दफा १३
निगमको काम, कर्तव्य र अधिकार
: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूका अधिनमा रही नेपाल ……… भर वा बाहिर सर्वत्र सुरक्षित कुशल, सुव्यवस्थित, किफायत र उचित रूपबाट सम्बन्धित हवाई यातायात सेवाको व्यवस्था गर्नु निगमको कर्तव्य हुनेछ । हवाई यातायात सेवालाई अधिक से अधिक फाइदा हुने गरी विकास गर्दै लैजाने र सकभर सुपथ भाडामा सो सेवा सुलभ हुने गर्न निगमले आफ्नो अधिकारको प्रयोग गर्न सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी निगमले विशेष गरेर देहायमा लेखिएका अधिकारहरू प्रयोग गर्न सक्नेछ :
(क) व्यापारिक वा अन्य उद्देश्यले कुनै हवाई यातायात सेवा चलाउने वा वायुयानको उडान गर्ने र हवाई सेवा सम्बन्धी सबै प्रकारको काम गर्ने,
(ख) निगममा नियुक्ति हुन इच्छुक वा अरू कुनै व्यक्तिहरूलाई वायुयानको उडान र तत्सम्बन्धी सबै प्रकारका काम कुरामा शिक्षण तथा प्रशिक्षणको व्यवस्था गर्ने,
(ग) आवश्यक परेमा निगमको यस ऐन अन्तर्गत आफूले गर्न पाउने हवाई सेवा सम्बन्धी कुनै काम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिई नेपाल बाहिरको हवाई संस्थाको सहयोग तथा सेवा प्राप्त गर्ने,
(घ) चल अचल सम्पत्ति प्राप्त गर्ने, भोग गर्ने, राख्ने, बेचविखन गर्ने, नामसारी गर्ने र अरू कुनै हवाई यातायात सम्बन्धी काम गर्ने,
(ङ) आफ्नो वा अरू कुनै व्यक्तिको वायुयान, सवारी वा अन्य कलपूर्जाहरू बनाउने, मर्मत गर्ने र उत्पादन गर्ने,
(च) यस ऐन अन्तर्गत आफ्नो अधिकारको प्रयोग र कर्तव्यको पालनामा मद्दत गर्ने किसिमको सबै ठेक्का पट्टाहरू लिने दिने कार्यान्वित गर्ने,
(छ) अन्य कुनै व्यक्तिद्वारा सञ्चालित हवाई यातायात सेवा सम्बन्धी कुराहरूमा एजेण्ट र ठेकेदारको काम गर्ने,
(ज) हवाई यातायातमा लागिरहेका कुनै व्यक्तिले निगमको तर्फबाट वा निगमसँग मिली हवाई यातायात सेवा चलाउन सक्ने गर्न निजसंग
कबुलियत गर्ने,
(झ) नेपाल सरकारको पूर्व स्वीकृति लिई आफूले सञ्चालन गरेका हवाई
यातायात सेवाद्वारा ओसार पसार गरेका यात्री सवारी भाडा र अरू
निर्धारित दस्तूर असूल गर्ने,
(ञ) नेपाल सरकारको पूर्व स्वीकृति लिई आफूले सञ्चालन गरेका हवाई यातायात सेवाद्वारा ओसार पसार गरेका मालसामानहरूको भाडा
निर्धारित गर्ने,
(ट) सहायक (फिडर) सेवाको विकास र हवाई यातायात सेवामा प्रयोग हुने विभिन्न वायुयानहरूको किसिमको सुधार ल्याउनुको साथै नेपाल भित्र वा बाहिर निगमद्वारा सञ्चालित हवाई यातायात सेवाको विकास गर्न आवश्यक कदम उठाउने,
(ठ) निगमको हित हुने कुनै काम गर्न वा निगमद्वारा सञ्चालित हवाई यातायात सेवासित सम्बन्धित जल वा स्थल मार्गबाट कुनै यातायात सेवा तथा भोजन, विश्रामगृह, होटल, माल गोदाम जस्ता सेवा सुविधाको
व्यवस्था तथा सुधार गर्न आवक्यक काम गर्ने, र
(ड) यस ऐनद्वारा प्रदत्त कर्तव्यको पालन र अधिकारको प्रयोग गर्न आवश्यक एवं सुविधाजनक भएका सबै कामहरू गर्ने ।
(३) यस दफा लेखिएका कुनै कुराले –
(क) निगमलाई तत्काल लागू रहेको कुनै नेपाल कानुनको उल्लंघन गर्न अधिकृत गरेको, वा
(ख) निगम वा त्यसको कर्मचारीहरूले अन्यथा पालन गर्नु नपर्ने कुनै कर्तव्य वा बोक्न नपर्ने कुनै दायित्वको सम्बन्धमा निजहरू उपर कुनै कारवाई उठाउन कुनै व्यक्तिलाई अधिकार दिएको मानिने छैन ।